काठमाडौं । गुण्डागर्दी र आपराधिक गतिविधिबाट अवैध सम्पत्ति कमाएको अभियोग खेपिरहेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्ण सफाइ दिएको छ। न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले आठ वर्षअघि विशेष अदालतले गरेको सफाइको फैसलालाई नै सदर गरेको हो।
यस निर्णयसँगै ७ करोड रुपैयाँभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी लामो समयदेखि चल्दै आएको बहुचर्चित कानूनी विवादले पूर्णविराम पाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चक्रे मिलन र उनकी श्रीमतीविरुद्ध ७ करोड ८ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो। तर, पेस गरिएका दाबी तथा प्रमाणहरू अपर्याप्त रहेको ठहर गर्दै विशेष अदालतले १० माघ २०७४ मा उनीहरूलाई सफाइ दिने फैसला सुनाएको थियो। विशेष अदालतको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै विभागले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको थियो।
सर्वोच्चले पनि विशेष अदालतको अघिल्लो मूल्याङ्कन र फैसलालाई नै कानूनी रूपमा वस्तुनिष्ठ ठहर गर्दै विभागको पुनरावेदन दाबी खारेज गरिदिएको छ। आपराधिक पृष्ठभूमिबाट कमाएको भनिएको सम्पत्तिको स्रोत पुष्टि गर्ने ठोस कानूनी प्रमाण नपुगेकाले अभियोग दाबी स्वतः खण्डित भएको अदालतको निष्कर्ष छ। सर्वोच्चको यो अन्तिम फैसलासँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा चक्रे मिलन दम्पतीले पूर्ण राहत पाएका छन्।

