माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पेस भएको छ।

मोरङ जिल्लामा ‘रिजाल एन्ड कम्पनी’ को नाममा ६० रोपनी सार्वजनिक जग्गा गैरकानूनी रूपमा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध यो मुद्दा दायर गरेको हो। अख्तियारले प्रतिवादीहरूसँग कुल ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।

अख्तियारले दायर गरेको यस मुद्दामा उच्च पदस्थ राजनीतिक नेतृत्व, पूर्वकर्मचारी तथा अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ। प्रमुख प्रतिवादीहरूमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधव घिमिरे (उनस ंगै उनकी छोरी कमला घिमिरे), तत्कालीन सचिव छविराज पन्त र तत्कालीन सहसचिव रमेशचन्द्र अधिकारी रहेका छन्।

यसका साथै गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, र शाखा अधिकृत बलराम निरौला लगायतका विभिन्न पदका अधिकारीहरू पनि प्रतिवादी छन्।

त्यसैगरी, भूमि सुधार व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल, नासु बुद्धिबहादुर कार्की तथा विभिन्न मालपोत अधिकृतहरूसमेत गरी कुल ९७ जनालाई प्रतिवादी बनाइएको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएर आर्थिक अनियमितता गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा अगाडि बढाएको छ।

  • समाचार पुनःलेखन गरिएको छ।-सम्पादक

सम्बन्धित समाचार

ताजा न्यूज