काठमाडौं । जापानका लागि नेपालको राजदूतमा सिफारिस गरिएका जिज्ञानकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) तथा स्थायी आवासीय अनुमतिपत्र (पीआर) सम्बन्धी विवाद उत्पन्न भएपछि उनले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले समितिमा उपस्थित न भई निवेदनमार्फत नाम फिर्ता लिने जानकारी गराएका हुन्। “कानुनी रूपमा समस्या नभए पनि स्वार्थको द्वन्द्व र देशको हितलाई ध्यानमा राखेर नाम फिर्ता लिने इच्छा उहाँले व्यक्त गर्नुभएको हो,” सभापति श्रेष्ठले बताए।
गत असोज २८ गते सरकारद्वारा सिफारिस १३ जना प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। समितिले १० जनाको नाम अनुमोदन गरे पनि साउदी अरबका लागि सिफारिस गिरीबहादुर सुनार र मलेसियाका लागि सिफारिस चुडामणि खरेलको नाम अस्वीकृत गरेको थियो।
जापानका लागि सिफारिस थापाको हकमा भने जापानको पीआर रहेको विषयमा सांसदहरूले गम्भीर प्रश्न उठाएका थिए। नेपालको संविधानको धारा २९१ को व्यवस्था तथा पीआर त्यागेको अवधिलाई लिएर विवाद भएपछि समितिले थप अध्ययनका लागि निर्णय स्थगित गरेको थियो। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। चौतर्फी प्रश्न र नैतिक विवाद उत्पन्न भएपछि अन्ततः थापाले प्रस्तावित राजदूतको पदबाट पछाडि हट्ने निर्णय गरेका हुन्।

