काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ। आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जानकारी दिएको हो।
यसअघि आयोजनाले ८ जुन २०२६ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार उक्त ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ। ठेक्का रद्द गर्ने निर्णयबारे आयोजना निर्देशकद्वारा जारी सूचनामा बोलपत्रदाताहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरिएको छ।
यसैबीच, आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला घटनाले नयाँ मोड लिएको छ। नयाँ ठेक्काको प्राविधिक मूल्यांकन सकेर आगामी कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेकै समयमा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख (निर्देशक) कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कानुनी कारण भने हालसम्म सार्वजनिक गरिएको छैन।
अधिकारीहरू नियन्त्रणमा परेसँगै मधेशका पाँच जिल्लामा करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको यस बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया र आगामी कामबारे पुनः अन्योल सिर्जना भएको छ।


