संसदीय विशेष समिति गठन गर्न नेपाली कांग्रेसको माग, पत्रकार धरपकडप्रति आपत्ति

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड तथा पछिल्ला विवादित सरकारी गतिविधिहरूबारे निष्पक्ष अध्ययन र अनुसन्धान गर्न तत्काल संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले सरकारका कदमहरूले विधिको शासन र नागरिक अधिकारमाथि प्रहार गरेको निष्कर्ष निकाल्दै उक्त माग राखेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकड लगायतका विषयमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठेको बताउनुभयो।

“नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ भन्ने पक्षमा छ। दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन संसदीय विशेष समिति गठन गरिनुपर्छ,” नेता आङ्देम्बेले भन्नुभयो।

संसदीय दलले स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविना नै समाचार कक्ष (न्यूजरुम) मा प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गरिनुलाई स्वेच्छाचारिताको पराकाष्ठा भनेको छ। यस्ता कदमले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब सिर्जना गर्ने र विधिको शासनको धज्जी उडाउने कांग्रेसको भनाइ छ। यस विषयमा सरकारले अविलम्ब जवाफ दिनुपर्ने माग पनि कांग्रेसले गरेको छ।

वर्तमान सरकारका पछिल्ला गतिविधिहरूले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक निकायको स्वायत्तता र न्यायपालिकाको स्वतन्त्रतामाथि नै गम्भीर असर पुर्‍याएको कांग्रेसको ठहर छ।

“न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्ने हाम्रो निरन्तरको अडान हो। तर, सरकार जे गरे पनि हुन्छ र कसैलाई जवाफ दिनु पर्दैन भन्ने मानसिकताबाट ग्रसित देखिएको छ,” आङ्देम्बेले थप्नुभयो, “यी घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयत्नका श्रृंखला हुन्।”

कांग्रेसले जनसरोकार र सुशासनका क्षेत्रमा सरकारले गर्ने राम्रा काममा सहयोग रहने स्पष्ट पारे पनि लोकतन्त्र, शक्ति पृथकीकरण र प्रेस स्वतन्त्रता जस्ता मूलभूत मूल्यमान्यता विपरीतका कदमको भने डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज