काठमाडौं । विगतका सहमति कार्यान्वयन र समसामयिक शैक्षिक तथा पेसागत माग पूरा गराउन दबाब दिने उद्देश्यका साथ नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरू शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै महासंघले भदौबाट नयाँ चरणको आन्दोलन सुरु गर्ने औपचारिक निर्णय गरेको हो। सरकारले पटक-पटक गरेका प्रतिबद्धता र कानून बमोजिम पाउनुपर्ने अधिकार सुनिश्चित गर्न ढिलाइ गरेपछि शिक्षकहरू पुनः सडक सङ्घर्षमा उत्रिने तयारीमा लागेका हुन्।
पत्रकार सम्मेलनमा महासंघले परिषद् बैठकबाट पारित १५ बुँदे विशेष निर्णयहरू सार्वजनिक गरेको छ। आन्दोलनका विस्तृत स्वरूप, ठोस मिति र आन्दोलनका विशिष्ट कार्यक्रमहरू तय गर्ने सम्पूर्ण जिम्मेवारी परिषद्ले विस्तारित कार्यदलीय बैठकलाई प्रत्यायोजित गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतका आन्दोलनका क्रममा सरकारसँग भएका सम्झौताहरूको पूर्ण पालना, शिक्षक-कर्मचारीको वृत्तिविकास, सेवा-सुविधा र नयाँ शिक्षा ऐनसँग सम्बन्धित मुख्य मागहरूलाई समेटेर भदौदेखि कडा विरोधका कार्यक्रम अघि बढाइनेछ।
विद्यालय शिक्षालाई व्यवस्थित बनाउन र शिक्षक तथा विद्यालय कर्मचारीका जायज मागलाई कानूनी तथा नीतिगत रूपमा सम्बोधन गर्न सरकारले वेवास्ता गरेको आरोप महासंघको छ। भदौबाट हुने भनिएको यो आन्दोलनले देशभरका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक वातावरण प्रभावित हुन सक्ने जोखिम बढाएको छ। महासंघले आफ्ना पेसागत हकहित र शैक्षिक सुधारका मागप्रति सरकार गम्भीर नभए चरणबद्ध रूपमा कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ।


