काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेपछि त्यसबारे कानुनी उपचार खोज्दै कार्की अदालत पुगेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट निवेदन पेस गरेका छन्।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार आईजीपी नियुक्ति र सरुवाको निर्णय बदर गरी पदमा पुनर्वहाली गराउन माग गर्दै पेस गरिएको रिट दर्ता प्रक्रियामा रहेको छ।
यसैबीच, सरकारको निर्णयअनुसार नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको कमान्ड सम्हाल्दै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीको रिट दर्ता भई प्रारम्भिक सुनुवाइ भएपछि यस मुद्दामा अदालतको आगामी कदम तय हुनेछ।

