सर्वोच्च अदालतमा प्रस्तावित चार न्यायाधीशविरुद्धको सुनुवाइ शुक्रबार र शनिबार हुने

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्धको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ। सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूविरुद्धको सुनुवाइ कार्यतालिका पारित गर्दै यस्तो निर्णय गरेको हो।

समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशहरूमाथि परेका उजुरीमाथि छलफल तथा सुनुवाइ गर्नका लागि दुई दिनको समय छुट्टाइएको छ। तय भएको कार्यतालिका अनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ भने शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुनेछ।

समितिका सभापति श्रेष्ठले दिएको जानकारी अनुसार प्रस्तावित न्यायाधीशहरूविरुद्ध कुल २८ वटा उजुरीहरू दर्ता भएका छन्। जसमध्ये डा. रत्नबहादुर वाग्चन्दविरुद्ध ५, चन्द्रबहादुर सारूविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध ७ वटा उजुरी परेका छन्। यसरी परेका उजुरीहरूमध्ये ५ जना उजुरीकर्ताले भने चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दर्ता गराएको बताइएको छ।

बिहीबारको बैठकमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो। गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका यी चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज