मीठो खाने, राम्रो लगाउने, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने, आशीर्वाद लिने र आफन्तजनसँग भेटघाट गर्ने पर्वका रूपमा दशैँको आफ्नै विशिष्ट महत्त्व रहेको छ । वर्षायामको अन्त्यसँगै खुल्ने नीलो आकाश, सफा मौसम, खेतबारीमा झुलिरहेका धानका बाला र घरआँगनमा छाउने उमङ्गले दशैँलाई अझ विशेष बनाउँछन् । देश छाडेर परदेश पुगेका सन्तान होऊन् वा रोजगारी, अध्ययन र व्यवसायका लागि घरबाट टाढा रहेका छोराछोरी, दशैँमा घर फर्कंदा अभिभावकको खुसीको सीमा हुँदैन । त्यसैले दशैँ केवल एउटा चाड होइन, परिवारको पुनर्मिलन, आत्मीयता र सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो ।
तर, समयसँगै दशैँ मनाउने शैली फेरिँदै गएको छ । विशेषगरी गाउँको दशैँमा आएको परिवर्तनले नेपाली समाजको बदलिँदो अवस्था, वैदेशिक रोजगारी, बसाइँसराइ, सामाजिक सम्बन्धमा आएको दूरी र आधुनिक जीवनशैलीको प्रभावलाई प्रस्ट देखाउँछ । कुनै समय गाउँभरि उल्लास छर्ने दशैँ आज धेरै गाउँमा सीमित परिवारको औपचारिकताजस्तो बन्न थालेको छ । गाउँमा भौतिक विकास बढेको छ, तर सामाजिक रौनक भने क्रमशः घट्दै गएको छ ।
पहिले दशैँ नजिकिँदै गर्दा गाउँको वातावरण नै बदलिन्थ्यो । घरआँगन लिपपोत गर्ने, घर सफा गर्ने, नयाँ लुगा सिलाउने, मिठामिठा परिकारको तयारी गर्ने र पिङ हाल्ने चटारो हुन्थ्यो । गाउँका बाटाघाटा र चौतारीमा दशैँकै चर्चा चल्थ्यो । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म सबैमा छुट्टै उत्साह देखिन्थ्यो । कसको घरमा को आउँदै छ, कसले के किन्यो, कहाँ पिङ हाल्ने र कसको घरमा टीका लगाउन जाने भन्ने विषयले गाउँमा चहलपहल बढाउँथ्यो ।
दशैँमा पिङ खेल्नु, साथीभाइसँग भेटघाट गर्नु, गाउँघरमा रमाइलो गर्नु र परम्पराअनुसार मासुका लागि घरमै खसी काट्नु सामान्य चलन थियो । कतिपय ठाउँमा जुवातास खेल्ने प्रचलन पनि थियो । यस्ता गतिविधिमा केही सामाजिक विकृति जोडिएका भए पनि गाउँलेहरूबीचको भेटघाट, सामूहिक सहभागिता र आपसी आत्मीयताले दशैँलाई जीवन्त बनाउँथ्यो । एउटाको घरमा खुसी हुँदा अर्को घर पनि रमाउँथ्यो । दुःख पर्दा सिङ्गो गाउँ साथमा उभिन्थ्यो ।
त्यतिबेला दशैँ कुनै एउटा घर वा परिवारको निजी उत्सव मात्र थिएन । गाउँको एउटा कुनामा पिङ हाल्दा अर्को कुनाका मानिस पनि सघाउन पुग्थे । कसैको घरमा पाहुना आउँदा छिमेकीलाई पनि खुसी लाग्थ्यो । घरघरमा पाकेका परिकारको सुगन्धसँगै गाउँले सम्बन्धको मिठास फैलिन्थ्यो । साँच्चै, पहिले दशैँ एउटा घरमा मात्र होइन, पुरै गाउँमा आउँथ्यो ।
पक्कै पनि दशैँ लागेपछि राजधानी काठमाडौँको चहलपहल केही कम हुन्छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि राजधानीमा बसोबास गर्ने मानिसहरू आफ्नो जन्मथलो र पुर्ख्यौली घर फर्कन्छन् । देशबाहिर रहेका नेपालीहरू पनि सम्भव भएसम्म परिवारसँग दशैँ मनाउन घर आउने प्रयास गर्छन् । लामो समयदेखि टाढिएका आफन्त भेट्ने र परिवारसँग खुसी साट्ने चाहनाले यात्रामा निस्कनेहरूको भीड बढ्छ ।
तर, विडम्बना, गाउँ फर्कने मानिसहरूको सङ्ख्या पहिलेको तुलनामा कम हुँदै गएको अनुभूति हुन्छ । समूहमा रमाउनेभन्दा एकल परिवार र एक्लो जीवनमा खुसी हुने परम्परा बढ्दै गएको छ । आफ्नो जन्मथलोमा फर्कनेहरू पनि धेरैजसो केही दिन बसेर पुनः आफ्नो कर्मथलो फर्किन्छन् । कुनै समय दशैँका लागि गाउँ फर्किनेहरूका कारण भरिभराउ हुने गाउँका घरहरू आज धेरैजसो खाली छन् । कतिपय घरमा वर्षभरि ताल्चा लाग्छ । दशैँमा घर खुल्छ, केही दिन चहलपहल हुन्छ र फेरि सुनसान बन्छ ।
यसरी गाउँ फर्किने परम्परा पूर्ण रूपमा हराइसकेको त छैन, तर त्यसको स्वरूप बदलिएको छ । पहिले गाउँ फर्कनु भनेको गाउँकै जीवनमा सहभागी हुनु थियो । अहिले धेरैका लागि गाउँ फर्कनु परिवारसँग भेटघाट गर्ने, टीका लगाउने र केही दिन बिताएर पुनः सहर वा विदेश फर्कने औपचारिक कार्यक्रम बनेको छ ।
आज गाउँमा सडक पुगेका छन् । पहिले हिँडेर घण्टौँ लाग्ने ठाउँमा अहिले सवारीसाधन छिनभरमै पुग्छन् । पक्की घरहरू बनेका छन् । अधिकांश गाउँमा बिजुली, खानेपानी, सञ्चार र अन्य भौतिक सुविधा पनि विस्तार भएका छन् । हेर्दा गाउँ विकासको बाटोमा अघि बढेको देखिन्छ । तर, ती सुविधाले गाउँलाई जीवन्त बनाउन सकेनन् ।
सबै भौतिक सुविधा छ । उर्बर भूमि छ । तर युवा छैनन् । यति सुन्दर जन्मभूमिले किन रोक्न सकेन युवा ? कहिलेसम्म रहन्छ यो अवस्था ?
गाउँमा ठूला र सुन्दर घरहरू छन्, तर ती घरमा बस्ने सन्तान छैनन् । घरका कोठाहरू खाली छन् । आँगनमा बालबालिका खेलेको आवाज सुनिँदैन । घरको छतमा बसेर घाम ताप्ने वृद्धवृद्धा त छन्, तर उनीहरूसँग गफ गर्ने, काममा सघाउने र चाडपर्वमा रमाइलो गर्ने युवा पुस्ता छैन । धेरै घरमा ६० देखि ८० वर्ष उमेर समूहका अभिभावक मात्रै बसिरहेका छन् । छोराछोरी कोही सहरमा छन्, कोही खाडी मुलुकमा, कोही युरोप, अमेरिका वा अस्ट्रेलियामा ।
कहिलेकाहीँ गाउँको विकासलाई घरको उचाइ, सडकको चौडाइ र भवनको बनोटबाट मापन गरिन्छ । तर गाउँको वास्तविक विकास त्यहाँका मानिसहरूको जीवन, सामाजिक सम्बन्ध, आर्थिक गतिविधि र सामूहिक खुसीमा पनि प्रतिबिम्बित हुनुपर्छ । मानिसविहीन हुँदै गएका गाउँमा बनेका पक्की घरले विकासको एउटा पाटो त देखाउँछ, तर गाउँको आत्मीयता र जीवन्तता हराउँदै गएको अर्को यथार्थ पनि उजागर गर्छन् ।
पहिले गाउँमा युवा थिए, तर भौतिक पूर्वाधारको अभाव थियो । आज भौतिक पूर्वाधार छ, तर युवा छैनन् । यो विरोधाभास नै बदलिँदो गाउँको सबैभन्दा ठूलो विडम्बना बनेको छ ।
गाउँका बाटामा हिँड्दा सुनिने एउटा वाक्य हो— “यो घर अमेरिकाको पैसाले बनाएको हो”, “त्यो घर अस्ट्रेलियाको कमाइले बनेको हो”, “अर्को घर सरकारी जागिर खानेले बनाएको हो ।” यस्ता भनाइले गाउँमा आर्थिक अवस्था सुधारिएको र वैदेशिक रोजगारीबाट आएको पैसाले भौतिक विकासमा योगदान पुर्याएको देखाउँछ ।
विदेशमा पसिना बगाएर कमाएको पैसाले घर बनेका छन्, छोराछोरीले शिक्षा पाएका छन्, परिवारको आर्थिक अवस्था सुध्रिएको छ । यसलाई नकार्न मिल्दैन । वैदेशिक रोजगारी धेरै नेपाली परिवारको जीवन धान्ने महत्त्वपूर्ण आधार बनेको छ । तर प्रश्न यति मात्रै होइन कि कति घर बने । प्रश्न यो पनि हो कि ती घरमा बस्ने को छ ? घर बनाउने मानिस नै वर्षौँसम्म विदेशमा बस्न बाध्य छ भने त्यो घरको पूर्ण खुसी कहाँ छ ? सन्तानको कमाइले बनेको घरमा वृद्ध आमाबुबा एक्लै बस्नुपर्ने अवस्था छ भने विकासको सामाजिक मूल्य के हो ? रेमिट्यान्सले घरका भित्ता बलिया बनाएको छ, तर कतिपय अवस्थामा गाउँका सामाजिक सम्बन्ध कमजोर हुँदै गएका छन् । आर्थिक समृद्धि र सामाजिक समृद्धि सधैँ एउटै गतिमा अघि बढ्दैनन् भन्ने कुरा गाउँको वर्तमान अवस्थाले देखाइरहेको छ ।
कुनै समय दशैँको पहिचान मानिने लिङ्गे पिङ आज धेरै गाउँमा देख्न मुस्किल हुन्छ । पिङ हाल्न युवाहरू चाहिन्छन्, त्यसलाई सुरक्षित रूपमा तयार पार्न सामूहिक श्रम चाहिन्छ र खेल्न बालबालिका तथा युवायुवतीको जमघट चाहिन्छ । जब गाउँमा युवा र बालबालिका नै कम हुँदै जान्छन्, तब पिङको परम्परा पनि क्रमशः हराउँदै जान्छ ।
त्यस्तै, दशैँका लागि घरमै खसी पाल्ने र काट्ने चलन पनि धेरै ठाउँमा घटेको छ । अहिले नजिकैको बजारबाट मासु किनेर ल्याउने प्रचलन बढेको छ । यो जीवनशैलीमा आएको परिवर्तन हो । बजारको पहुँच बढ्नु र मानिसहरू व्यस्त हुनु यसका कारण हुन सक्छन् । घरमै खसी काट्नु नै दशैँको अनिवार्य सर्त त होइन । तर त्यससँग जोडिएको पारिवारिक तयारी, छिमेकीको सहयोग र सामूहिक सहभागिता घट्दै जानु भने विचारणीय विषय हो ।
पहिले खसी काट्ने घरमा छिमेकी र आफन्त जम्मा हुन्थे । काम बाँडिन्थ्यो, गफगाफ हुन्थ्यो र रमाइलो गरिन्थ्यो । पिङ हाल्दा गाउँका धेरै मानिस जुट्थे । अहिले बजारबाट सामान ल्याउने र घरभित्रै चाड मनाउने चलन बढ्दै जाँदा ती सामूहिक गतिविधि कमजोर भएका छन् ।
परम्परा बदलिनु स्वाभाविक हो । समयअनुसार सुविधा अपनाउनु पनि आवश्यक छ । तर परम्पराको बाहिरी स्वरूप बदलिँदा त्यसले बोकेको सामूहिक भावना र आपसी सहयोग पनि हराउन दिनु हुँदैन ।
गाउँको महत्त्व चाडपर्वमा रमाइलो गर्न सकिने ठाउँ हुनुमा मात्र छैन । जीवनका अप्ठ्यारा क्षणमा साथ दिने मानिसहरू हुनु पनि गाउँको ठूलो सम्पत्ति हो । जब त्यो साथ कमजोर हुन्छ, गाउँको भौतिक स्वरूप बाँकी रहे पनि सामाजिक सुरक्षा र आत्मीयताको अनुभूति घट्दै जान्छ ।
आजको प्रविधिले संसारलाई नजिक ल्याएको छ । विदेशमा रहेका छोराछोरीले भिडियो कलमार्फत अभिभावकसँग कुरा गर्न सक्छन् । टाढा रहेका आफन्तलाई दशैँको शुभकामना पठाउन सकिन्छ । पारिवारिक भेटघाटका तस्बिर र खुसीका क्षण सामाजिक सञ्जालमा साझा गर्न सकिन्छ । प्रविधिले दूरी घटाएको छ र सम्पर्कलाई सहज बनाएको छ । तर यसले एउटा नयाँ प्रश्न पनि जन्माएको छ— के डिजिटल सम्पर्कले भौतिक उपस्थितिको स्थान लिन सक्छ ?
गाउँ होस् वा सहर आज धेरैका लागि हाँसो, आँसु, प्रेम, दुःख र खुसी व्यक्त गर्ने प्रमुख माध्यम सामाजिक सञ्जाल बनेको छ । दशैँको टीका लगाएको तस्बिर, नयाँ लुगाको प्रदर्शन, पारिवारिक भेटघाटका दृश्य र शुभकामनाका सन्देशहरू सामाजिक सञ्जालमा छरपस्ट देखिन्छन् । बाहिरबाट हेर्दा सबैको दशैँ उल्लासमय देखिन्छ । तर त्यही तस्बिरको पछाडि कसैको एक्लोपन, कसैको परिवारसँग भेट्न नपाएको पीडा र कसैको वृद्ध आमाबुबा घरमा एक्लै रहेको यथार्थ लुकेको हुन सक्छ । त्यो सामाजिक सञ्जालले बिर्साउँदै गएको छ ।
सामाजिक सञ्जाल आफैँमा समस्या होइन । समस्या तब हुन्छ, जब वास्तविक सम्बन्धलाई डिजिटल सम्पर्कले पूर्ण रूपमा विस्थापित गर्न थाल्छ । छिमेकीको घरमा गएर दुई शब्द बोल्न समय नहुने, नजिकैको आफन्तसँग भेटघाट गर्न झन्झट मान्ने, तर सामाजिक सञ्जालमा घण्टौँ बिताउने प्रवृत्ति बढ्दै गएको छ । एउटै गाउँमा बस्ने मानिसहरूबीच पनि आत्मीय संवाद घट्दै गएको अनुभूति हुन्छ ।
पहिले गाउँमा साथीभाइसँग भेट्न कुनै बहाना चाहिँदैनथ्यो । चौतारी, धारो, आँगन र गोरेटो बाटो नै भेटघाटका स्थल हुन्थे । अहिले मानिसहरू एकअर्कासँग जोडिएका त छन्, तर त्यो सम्बन्धको गहिराइ कति छ भन्ने प्रश्न उठ्न थालेको छ ।
आपसी सम्बन्धमा आएको तिक्तता मेटाउने अवसर दशैँको सबैभन्दा सुन्दर पक्ष हो । वर्षभरि भएका मनमुटाव, रिसराग र वैमनस्यता बिर्सेर मान्यजनको हातबाट टीका लगाउने, आशीर्वाद लिने र सम्बन्ध सुधार्ने परम्पराले दशैँलाई विशेष बनाउँछ ।
पहिले कसैसँग झगडा भएर बोलचाल बन्द भएको भए पनि दशैँमा टीका लगाउन जाने, भेटघाट गर्ने र मेलमिलाप गर्ने चलन थियो । मनमा गुम्सिएका असन्तुष्टि हटाएर नयाँ सम्बन्धको सुरुआत गर्ने अवसरका रूपमा पनि दशैँलाई लिइन्थ्यो । नजिकका आफन्त मात्रै होइन, गाउँका मान्यजन, छिमेकी र चिनजानका मानिसहरूको घरमा टीका लगाउन जाने परम्पराले गाउँलाई एउटै परिवारजस्तो बनाउँथ्यो ।
यसको परिणाम केवल भेटघाट घट्नुमा सीमित छैन । भेटघाटसँगै एकअर्काको सुखदुःख बुझ्ने अवसर पनि कम भएको छ । सम्बन्धहरू औपचारिकतामा सीमित हुँदा समाजमा आपसी विश्वास र सहकार्यको भावना कमजोर भएको छ ।
दशैँको टीका निधारमा लगाइने रातो अक्षता मात्र होइन । यो सम्बन्ध जोड्ने, मन सफा गर्ने र विगतका तिक्तता बिर्सने प्रतीक पनि हो । यसको वास्तविक अर्थलाई जीवन्त राख्न सकेनौँ भने टीकाको विधि बाँकी रहला, तर त्यसले दिने आत्मीयता हराउन सक्छ ।
गाउँको दशैँमा आएको परिवर्तनलाई केवल मानिसहरू आधुनिक भए वा परम्परा बिर्सिए भनेर बुझ्नु मात्र पर्याप्त हुँदैन । यसका पछाडि गहिरा सामाजिक, आर्थिक र जनसाङ्ख्यिक कारण छन् । रोजगारीको सीमित अवसरले युवाहरूलाई सहर र विदेशतिर धकेलेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र अन्य सुविधाको खोजीमा परिवारहरू गाउँबाट बसाइँ सरेका छन् । कृषि पेसा कठिन बन्दै जानु, खेतीयोग्य जमिन बाँझो रहनु र गाउँमा आयआर्जनका पर्याप्त अवसर नहुनुले पनि युवा पलायन बढाएको छ ।
अर्कोतर्फ, परिवारको संरचना बदलिएको छ । संयुक्त परिवारको स्थान एकल परिवारले लिँदै गएको छ । सामूहिक श्रम र सहकार्यको परम्परालाई आधुनिक व्यस्तताले विस्थापित गरेको छ । उपभोगमुखी जीवनशैली र व्यक्तिगत प्राथमिकता बढ्दै जाँदा सामाजिक गतिविधिमा सहभागी हुने समय तथा इच्छा दुवै घटेको पाइन्छ ।
त्यसैले गाउँको दशैँमा आएको परिवर्तनलाई केवल संस्कृतिको क्षयका रूपमा होइन, गाउँमा मानिस बस्न सक्ने वातावरण कमजोर हुँदै गएको परिणामका रूपमा पनि बुझ्नुपर्छ जस्तो लाग्छ । गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनको अवसर सिर्जना नगरी युवाहरूलाई परम्परा जोगाउन मात्र आग्रह गर्नु पर्याप्त हुँदैन भन्ने मेरो दशैँ यात्राको निष्कर्ष रहेको छ ।
समयलाई पछाडि फर्काउन सकिँदैन । पहिलेको जस्तै जीवनशैली, परिवारको संरचना र सामाजिक अवस्था जस्ताको तस्तै फर्किने अपेक्षा पनि यथार्थपरक हुँदैन । आजका मानिसले सुविधा, स्वतन्त्रता र व्यक्तिगत छनोटलाई महत्त्व दिन्छन् । त्यसैले दशैँ मनाउने शैलीमा परिवर्तन आउनु स्वाभाविक हो । तर, परिवर्तनको अर्थ सम्बन्धहरू त्याग्नु होइन । आधुनिकताको अर्थ आफ्नो समाज र संस्कृतिबाट टाढिनु पनि होइन । आजको पुस्ताले नयाँ जीवनशैली अपनाउँदै पुराना परम्पराका सकारात्मक पक्षलाई निरन्तरता दिन सक्छ ।
गाउँमा बसोबास गर्ने वृद्धवृद्धालाई चाडपर्वमा एक्लो महसुस हुन नदिन सामुदायिक पहल आवश्यक छ । टाढा रहेका सन्तानले आर्थिक सहयोग वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्नुका साथै सम्भव भएसम्म भौतिक उपस्थितिलाई पनि महत्त्व दिन आवश्यक रहेको छ । भेट्न नसक्ने अवस्थामा नियमित संवाद, छिमेकीसँगको समन्वय र अभिभावकको दैनिक आवश्यकताप्रति संवेदनशीलता आवश्यक हुन्छ ।
दीर्घकालीन रूपमा भने गाउँमै रोजगारी सिर्जना गर्ने, कृषि तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, पर्यटन र साना उद्यमलाई प्रोत्साहन गर्ने तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने काम महत्त्वपूर्ण छन् जस्तो महसुस भयो । गाउँमा बस्नु बाध्यता होइन, सम्मानजनक विकल्प बन्न सके मात्रै गाउँमा युवा पुस्ताको उपस्थिति बढ्न सक्छ ।
दशैँको रौनक जोगाउने काम केवल पिङ हालेर वा परम्परागत परिकार बनाएर पूरा हुँदैन । त्यसका लागि गाउँमा मानिसको उपस्थिति, आपसी सम्बन्ध र सामूहिक जीवनलाई पनि जोगाउन आवश्यक छ । बदलिँदो गाउँको दशैँले हाम्रो समाजलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ । के विकास भनेको पक्की सडक, अग्ला घर र आर्थिक समृद्धि मात्र हो ? यदि घर छन् तर बस्ने मानिस छैनन्, सडक छन् तर हिँड्ने युवा छैनन्, आँगन छन् तर खेल्ने बालबालिका छैनन् र चाडपर्व छन् तर सँगै रमाउने समाज छैन भने हामीले हासिल गरेको विकासको पूर्णता कहाँ छ र ?
दशैँको रौनक केवल रातो टीका, जमरा, नयाँ लुगा र मीठा परिकारमा सीमित हुँदैन । यसको वास्तविक सुन्दरता परिवारको पुनर्मिलन, छिमेकीको आत्मीयता, साथीभाइको हाँसो, मान्यजनको आशीर्वाद र दुःखसुखमा एकअर्काको साथमा छ । सामूहिक जीवनको यही सुन्दरता नै नेपाली गाउँको पहिचान थियो ।
आज गाउँका घरहरू पक्की बनेका छन् । तर धेरै आँगन रित्तिएका छन् । आर्थिक अवस्था सुधारिएको छ, तर आत्मीय सम्बन्धमा दूरी बढेको छ । मानिसहरू संसारभरि फैलिएका छन्, तर आफ्नै गाउँमा भेटघाट गर्ने चलन साँघुरिएको छ । दशैँ मनाउने विधि बाँकी छ, तर त्यसलाई जीवन्त बनाउने सामूहिक भावना कमजोर हुँदै गएको छ ।
हामीले विगतलाई सम्झेर मात्र पुग्दैन, वर्तमानलाई बुझेर भविष्यका लागि पनि सोच्नुपर्छ । पुरानो गाउँको दशैँ हुबहु फर्काउन नसकिएला, तर त्यसले दिएको प्रेम, सद्भाव, मेलमिलाप र सामूहिकताको भावना अवश्य जोगाउन सकिन्छ । सामाजिक सञ्जालमा शुभकामना साटासाट गरौँ, तर सम्भव भएसम्म एकअर्काको घरमा पनि पुगौँ । परिवारसँग टीका लगाऔँ, तर छिमेकीको दुःखसुख पनि बुझौँ ।
गाउँको दशैँ हराउनु भनेको एउटा चाडको रौनक मात्र हराउनु होइन । त्यो त हाम्रो सामूहिक स्मृति, सामाजिक सम्बन्ध र सांस्कृतिक जीवनको एउटा महत्त्वपूर्ण पाटो कमजोर हुँदै जानु हो ।
गाउँको दशैँ बचाउन पिङ मात्र हालेर पुग्दैन, गाउँमा युवा पनि चाहिन्छन् । घर मात्र बनाएर पुग्दैन, घरमा बस्ने वातावरण पनि चाहिन्छ । टीका मात्र लगाएर पुग्दैन, मन पनि जोडिनुपर्छ । गाउँको वास्तविक समृद्धि घरको उचाइमा होइन, त्यहाँ बस्ने मानिसहरूको आत्मीयता र सामूहिक खुसीमा निहित हुन्छ ।

