काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वडा अध्यक्षसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा वडा नं. ९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला वि.कलाई प्रतिवादी बनाइएको छ ।
आयोगको अनुसन्धान प्रतिवेदनअनुसार वडा अध्यक्ष तामाङले आफ्नै दायाँ हातको बुढीऔँलाको औँठाछाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी लिएको पुष्टि भएको छ । त्यसैगरी, नामावलीमा दोहोरो नाम प्रविष्टि गरी, मृत्यु भइसकेका र बसाइँसराइ गरिसकेका लाभग्राहीको नाममा समेत भत्ता निकासा देखाएर थप रकम हिनामिना गरिएको दाबी आरोपपत्रमा गरिएको छ ।
आयोगले प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ११ बमोजिमको कसुरमा कैद सजाय र बिगो बमोजिमको जरिवाना माग गरेको छ । जसमा ओमबहादुर दर्जीबाट ९ लाख ५३ हजार ६००, अभयकुमार गुप्ताबाट ११ लाख ६७ हजार २००, दिनानाथ चौधरीबाट ७ लाख ९४ हजार ४०० तथा शुकविर तामाङ र खिला वि.कबाट पूर्ण बिगो ३१ लाख ६७ हजार २०० रुपैयाँ असुलउपर गर्न मागदाबी लिइएको छ ।
सरकारी अभिलेखमा झूटो विवरण प्रविष्टि गरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूले पदीय मर्यादा विपरीत बदनियतपूर्ण ढङ्गले कागजात हेरफेर गरी राज्य कोषमा क्षति पुर्याएको अनुसन्धानबाट खुलेको छ ।

