उद्योगपति विनोद चौधरीको योग्यतासम्बन्धी विवादमा सर्वोच्चद्वारा निर्वाचन आयोगबाट सक्कल मिसिल माग

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीको पदको योग्यतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगबाट निर्णयको सक्कल मिसिल माग गरेको छ। न्यायाधीशको आदेशानुसार अदालतको मुद्दा तथा रिट महाशाखाले निर्वाचन आयोगलाई पत्राचार गर्दै २०७८ माघ १८ गते आयोगबाट भएको निर्णयसहितको सक्कल फाइल उपलब्ध गराउन निर्देशन दिएको हो।

सर्वोच्च अदालतका शाखा अधिकृत श्रीकृष्ण गौतमद्वारा हस्ताक्षरित पत्रमा डा. सुभाषचन्द्र यादव निवेदक रहेको उत्प्रेषणको रिटमा आगामी मङ्सिर १० गतेका लागि पेशी तोकिएको उल्लेख छ। उक्त सुनुवाइ पूर्व नै आयोगको निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण सक्कल कागजातहरू अदालतमा पेश गर्न आदेश दिइएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। तर, पार्टी विधान बमोजिम केन्द्रीय सदस्यको उम्मेदवार हुन आवश्यक पर्ने १० वर्षको निरन्तर क्रियाशील सदस्यताको मापदण्ड चौधरीले पुरा नगरेको दाबी गर्दै निकटतम प्रतिद्वन्द्वी डा. यादवले कानुनी उपचारको माग गरेका हुन्। सुरुमा पार्टीको निर्वाचन समिति र पछि निर्वाचन आयोगमा दिइएको उजुरी खारेज भएपछि यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोगले २०७८ माघ १८ गते यादवको दाबी बमोजिम निर्णय गर्न अस्वीकार गरेपछि सोही निर्णयलाई बदर गर्न माग गर्दै २०७८ फागुन ३ गते सर्वोच्चमा उत्प्रेषणको रिट दर्ता भएको थियो। लामो समयदेखि विचाराधीन रहेको यस मुद्दामा सर्वोच्चले सक्कल मिसिल अध्ययन गरेपश्चात् योग्यताको विषयमा अन्तिम सुनुवाइ प्रक्रिया अगाडि बढाउने देखिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज