काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा विधायकी प्रक्रियालाई अगाडि बढाउने उद्देश्यका साथ राज्यका संवेदनशील एवं महत्त्वपूर्ण क्षेत्रसँग जोडिएका चारवटा नयाँ विधेयकहरू पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
राष्ट्रिय सुरक्षा, संवैधानिक निकायका पदाधिकारीको सेवा-सुविधा, प्राकृतिक स्रोतको उपयोग तथा मानव अधिकार संरक्षणसँग जोडिएका ऐनहरू परिमार्जनका लागि विधेयकहरू सदनसमक्ष पेस गर्न लागिएको हो। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
त्यसैगरी, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै सदनमा पेस गर्ने कार्यसूची छ। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालका तर्फबाट ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गरिने सम्भावित तालिका रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

