काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यको नयाँ पुस्तक ‘संक्षिप्त संवैधानिक कानून’ तिहारलगत्तै बजारमा आउने भएको छ। पैरवी प्रकाशनबाट प्रकाशित हुने यस पुस्तकलाई कुनै पनि औपचारिकता बिना सामाजिक सञ्जालमार्फत मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ।
दैनिक राजनीतिक अन्योल र सञ्जालका कोलाहलबाट केही समय टाढा रहेर आफ्नो लेखन कार्यमा पूर्ण रूपमा केन्द्रित हुँदा पुस्तक निर्धारित समयभन्दा छिटो तयार भएको र यसले आफूलाई मानसिक शान्ति तथा वास्तविक खुसी प्रदान गरेको डा. आचार्यले उल्लेख गर्नुभएको छ।
डा. आचार्यका यसअघि ‘संविधानसभा : प्रक्रिया र अनुभवहरू’ (सन २००६), ‘मेकिङ कन्स्टिच्युसन थ्रु कन्स्टिच्युएन्ट एसेम्बली’ (सन २००६), ‘फन्डानेन्टल राइड्स इन द वर्ल्ड कन्स्टिच्युसन्स’ (सन २००८), ‘मौलिक अधिकारका आयामहरू’ (सन २००९), ‘सिभिलियन कन्ट्रोल मेकनिज्म अफ सेक्युरिटी फोर्सिज इन नेपाल’ (सन २०११), ‘माइ एसेज इन ल, मिडिया फ्रिडम एन्ड पोलिटिक्स’ (सन २०१२), ‘कम्पेटिभ सिस्टम्स अफ ज्युडिसियल रिभ्यु’ (सन २०१४), ‘दि कन्सेप्ट अफ ज्युडिसियल रिभ्यु’ (सन २०२०), ‘कन्स्टिच्युसन एन्ड कन्स्टिच्युसनलिजम’ (सन २०२०), र ‘फन्डानेन्टल राइड्स इन द वर्ल्ड कन्स्टिच्युसन्स भोलम १ र २’ (सन २०२४) लगायतका चर्चित तथा महत्त्वपूर्ण कृतिहरू प्रकाशित भइसकेका छन्।

