काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार असोज १६ गते शुक्रबार मध्यरात १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरिएको हो।
अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संसदको चालु अधिवेशन अन्त्य भएसँगै दुवै सदनमा रहेका संसदीय गतिविधि तथा छलफलहरू औपचारिक रूपमा रोकिएका छन्। आगामी नयाँ अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुनः आह्वान गरिनेछ।

