काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सुनसरीको कप्तानगञ्ज घटनाका पीडित परिवारलाई तत्काल न्याय दिलाउन माग गर्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
ओलीले शुक्रबार गृह सचिवलाई भेटेर कप्तानगञ्जवासीको भावना समेटिएको ध्यानाकर्षण पत्र बुझाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भेटबारे जानकारी दिँदै सरकारले विगतमा गरेका प्रतिबद्धताहरूको यथोचित कार्यान्वयन गर्न आग्रह गरिएको बताएकी छन् ।
ध्यानाकर्षण पत्रमार्फत घटनाको छानबिन प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, दोषीमाथि कडा कारबाही गर्न र मृतकका परिवारलाई शहीद परिचयपत्र वितरण गर्न माग गरिएको छ । यसका साथै, पीडित परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गर्दै उनीहरूका अन्य जायज मागहरू सम्बोधन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
पीडितको न्याय र सम्मानप्रति राज्यको जवाफदेहिता सुनिश्चित हुनुपर्नेमा ओलीले जोड दिएकी छन् ।

