काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकको सुविधाअन्तर्गत डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
६५ वर्ष उमेर पूरा भएसँगै कानुनले तोकेको ज्येष्ठ नागरिकको सुविधाअनुसार रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो। अदालतबाट प्राप्त भएको संशोधित कैदीपुर्जीका आधारमा उनलाई थुनामुक्त गरिएको कारागार प्रशासनले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले उनलाई चार वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो जसमा ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुटको सुविधा उनले प्राप्त गरेका छन्।

