काठमाडौँ । सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय कानुनी र नैतिक विवादमा परेको छ। पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र प्रायोजकहरूलाई कार्यक्रमबाट अलग हुन आग्रह गरेसँगै विवाद थप गहिरिएको छ।
महोत्सवमा हात्तीको फुटबललगायतका खेलका क्रममा माहुतेहरूले हात्तीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि केही बैंक तथा पर्यटन कम्पनीहरूले आफ्नो प्रायोजन फिर्ता लिएका छन्।
सर्वोच्च अदालतले हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै पर्यटन गतिविधिमा गरिने प्रयोगलाई नियमन गर्नुपर्ने निर्देशनात्मक आदेश जारी गरेपछि यस विषयले कानुनी बहस पाएको हो।
पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई समेत ध्यानाकर्षण गराउँदै कानुनको पालना गर्न माग गरेको छ।

