१०० वर्षको उमेरमा पनि अदालतमा सक्रिय वकिल : जसले बनाए विश्व कीर्तिमान र पाए उच्च अदालतको दुर्लभ सम्मान

उमेरले शताब्दी पार गरिसक्दा पनि उही जोसका साथ कालो कोट लगाएर नियमित अदालत धाउने र पक्षको तर्फबाट बहस गर्ने व्यक्ति विरलै भेटिन्छन् । भारतको केरला राज्यस्थित पलक्कड जिल्लाका पी. बालासुब्रमण्यम मेनन यस्तै एक अद्भुत कानून व्यवसायी हुन्, जसले १०० वर्षको उमेरमा पनि वकालत पेशालाई निरन्तरता दिँदै विश्व कीर्तिमान कायम गरेका छन् ।

सन् २०२६ अक्टोबर १५ मा आफ्नो १००औँ जन्मदिन मनाएका मेननलाई त्यसको ६ दिनअघि अक्टोबर ९ मा केरला उच्च अदालतले ‘वरिष्ठ अधिवक्ता’ को उपाधि प्रदान गरेको छ । केरला उच्च अदालतका मुख्यन्यायाधीश सौमेन सेनको विशेष पहलमा प्रदान गरिएको यो सम्मान भारतीय न्यायिक इतिहासमै दुर्लभ मानिएको छ । सामान्यतया उच्च अदालत वा सर्वोच्च अदालतमा मात्र बहस गर्ने वकिलहरूलाई दिइने यो उपाधि जिल्ला तथा तल्लो अदालत (Mofussil courts) मा नियमित वकालत गर्ने अधिवक्तालाई सम्भवतः पहिलो पटक प्रदान गरिएको हो । भारतको एड्भोकेट्स एक्ट, १९६१ को दफा १६ अनुसार कानूनको विशेष ज्ञान, अनुभव र बारमा पुर्‍याएको योगदानका आधारमा उच्च अदालतले अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने कानूनी व्यवस्था छ ।

मद्रास ल कलेजबाट कानूनमा स्नातक गरेका मेननले सन् १९५० मा तत्कालीन मद्रास उच्च अदालतबाट तत्कालीन महाधिवक्ता (Advocate General) कुट्टिकृष्णन मेननको मातहतमा रही वकालत सुरु गरेका थिए । दुई वर्षपछि आफ्नै गृहनगर पलक्कड फर्किएर फौजदारी कानूनका ज्ञाता के.एस. रामकृष्ण अय्यरसँग काम थालेका उनले सन् १९५२ पछि एक न्यायाधीशको सुझावमा देवानी (Civil) कानूनलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाए । ७६ वर्षभन्दा लामो वकालत यात्रामा उनले हजारौँ देवानी मुद्दामा सफलतापूर्वक बहस गरिसकेका छन् ।

मेननको यही अनवरत कानूनी सेवालाई सम्मान गर्दै सन् २०२३ सेप्टेम्बर ११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई विश्वकै सबैभन्दा लामो समय वकालत गर्ने पुरुष अधिवक्ताको आधिकारिक प्रमाणपत्र प्रदान गरेको थियो । त्यतिबेला उनको वकालत अवधि ७३ वर्ष ६० दिन प्रमाणित भएको थियो । यसअघि यो कीर्तिमान जिब्राल्टरका अधिवक्ता लुइस ट्रियाको नाममा ७० वर्ष ३११ दिनको थियो । मेननले ‘इन्डियन बुक अफ रेकर्ड्स’ मा समेत आफ्नो नाम दर्ज गराइसकेका छन् ।

अवकाशको उमेर पार गरेको दशकौँ बितिसक्दा पनि मेनन हरेक दिन नियमित कार्यालय र अदालत पुग्छन् । अदालतमा छोटो, सटिक र प्रभावकारी बहस तथा जिरह गर्नु उनको विशेषता हो । वकालतलाई केवल जीविकोपार्जन मात्र नभई पक्षको विश्वासको धर्म मान्ने उनी भन्छन्, “जब कोही सेवाग्राही मुद्दा लिएर मकहाँ आउँछ, ऊ ममाथि पूर्ण विश्वास गरेर आएको हुन्छ ।” अवकाशको योजनाबारे सोध्दा सधैँ मुस्कुराउने मेननको यो अदम्य साहस र समर्पण विश्वभरका कानून व्यवसायी तथा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

यो सामग्री तयार गर्न निम्नलिखित प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यम र आधिकारिक रेकर्डहरूबाट प्राप्त तथ्य र जानकारीहरूलाई आधार बनाइएको छ: -सम्पादक

The Better India
Bar and Bench
Guinness World Records (Official Database)

तस्वीर सौजन्य: फेसबुक/सुमा कनकला/ बार एन्ड बेन्च/इन्स्टाग्राम/@द बेटर इन्डिया

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज