काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनको अधिकारलाई लिएर न्यायपालिकाभित्रै आन्तरिक द्वन्द्व चुलिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले स्वेच्छाचारी ढङ्गले इजलास गठन गरेको भन्दै न्यायाधीश हरि फुयालले सुनुवाइमा बस्न ठाडै अस्वीकार गरेपछि बुधबार निर्धारित संवैधानिक इजलासको सम्पूर्ण कामकारबाही ठप्प हुन पुगेको छ।
यसअघिका संवैधानिक इजलासमा समावेश नगरिएका न्यायाधीश फुयाललाई बुधबारको इजलासमा एक्कासी राखिएको थियो। प्रधानन्यायाधीश शर्मालाई भेटेर न्यायाधीश फुयालले विगतमा आफूलाई नराख्नुको कारण र अहिले अचानक समावेश गरिनुको औचित्यबारे प्रश्न गरेका थिए। इजलास गठनको प्रक्रियाप्रति असहमति जनाउँदै उनले अलग्गिने निर्णय लिएपछि अन्य न्यायाधीशहरू समेत बस्न तयार भएनन्, जसका कारण पाँच सदस्यीय संवैधानिक इजलासको नियमित कामकारबाही अवरुद्ध हुन पुग्यो।
न्यायाधीश फुयालले प्रधानन्यायाधीशको व्यक्तिगत इच्छाका आधारमा नभई वरिष्ठताक्रम वा गोला प्रथाजस्ता वस्तुनिष्ठ र वैज्ञानिक पद्धतिको प्रयोग गरेर मात्र संवैधानिक इजलास गठन गरिनुपर्ने अडान राख्दै आएका छन्। पछिल्लो समय सर्वोच्च अदालतभित्र पेचीला मुद्दाहरूको पेशी व्यवस्थापन र इजलास तोक्ने विषयलाई लिएर आन्तरिक विवाद र असन्तुष्टि बढ्दै गएको छ। यसअघि पनि विभिन्न कानूनी र संवैधानिक विषयका सुनुवाइमा न्यायाधीशहरूबीच मतभेद सार्वजनिक भइरहेको पृष्ठभूमिमा इजलास गठनको निष्पक्षता र पारदर्शी मापदण्डको बहस पुनः पेचिलो बनेको छ।

