जनकपुर ।मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सदनबाटै राजीनामा घोषणा गरेका हुन्।
सम्बोधनका क्रममा यादवले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै राजीनामा दिने निर्णय लिएको बताए। सत्ता साझेदार दल नेकपा (एमाले) ले गत असोज ३० गते आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवमाथि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइपरेको थियो। त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकारको साथ छाडेपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। एक महिनाको अवधि सकिनै लाग्दा बहुमत नपुग्ने देखेपछि उनले पद त्यागेका हुन्।
हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा बहुमत सिद्ध गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, संघीय समाजवादी पार्टीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन्।
गत कात्तिक २० गते एमालेले जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेको दाबी गरे पनि जसपा नेपालभित्र मुख्यमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक विवाद देखिएकाले समीकरणले मूर्त रूप लिन सकेको छैन। एमाले र नेपाली कम्युनिस्ट पार्टी जसपा नेपालकै नेतृत्वमा सरकार बनाउन लचक देखिए पनि जनमत पार्टीले नयाँ सरकारमा सहभागी नहुने घोषणा गरिसकेको छ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ र अब प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नेछन्।

