पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाराजगञ्जस्थित निवासबाट पक्राउ

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले उनलाई महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई पक्राउ गरिएको पुष्टि भए पनि उनीविरुद्धको कसुर र नियन्त्रणमा लिनुको विस्तृत कारण भने हालसम्म सार्वजनिक गरिएको छैन।

२०७५ पुस १८ गते नेपालको २९ औँ प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालेका जबरा आफ्नो कार्यकालभरि विभिन्न विवादमा मुछिएका थिए। विशेष गरी मन्त्रिपरिषद्‍मा भागबण्डा खोजेको र न्यायिक विचलन ल्याएको आरोप लागेपछि कानुन व्यवसायी तथा नेपाल बार एसोसिएसनले उनीविरुद्ध लामो आन्दोलन गरेका थिए। विवाद उत्कर्षमा पुगेपछि २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भई उनी पदबाट निलम्बित भएका थिए।

संसद्‌मा लामो समयसम्म महाअभियोगको प्रस्ताव निर्णयमा नपुगी अलपत्र परेको थियो। तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने समयमा संसद् सचिवालयका महासचिवले महाअभियोग ‘निष्क्रिय’ भएको भन्दै सफाइ पत्र दिएका थिए। उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेकोमा संवैधानिक इजलासले महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै सोसम्बन्धी रिटहरू खारेज गरिदिएको थियो।

राणा परिवारका सदस्य जबरा २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रूपमा न्यायिक क्षेत्रमा प्रवेश गरेका थिए। विशेष अदालतको सदस्य र पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश हुँदै उनी २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश र पछि प्रधानन्यायाधीश बनेका हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज