काठमाडौँ । नेपालका समसामयिक कानून, समाज र जीवनका विविध पक्षहरूलाई समेटेर तयार पारिएको पुस्तक ‘इंक एन्ड एक्सपिरियन्स: अ ल स्टुडेन्ट्स रिफ्लेक्सन्स अन नेपाल एन्ड लाइफ’ विमोचन भएको छ। काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित एक समारोहका बिच अधिवक्ता केशव घर्तीमगरद्वारा लिखित उक्त पुस्तकको औपचारिक विमोचन गरिएको हो।
कानूनका विद्यार्थीका रूपमा आफ्ना अनुभव, विचार र जीवनयात्रालाई समेटेर तयार पारिएको यस कृतिमा अङ्ग्रेजी र नेपाली दुवै भाषाका गरी ४१ वटा लेखहरू सङ्ग्रहित छन्। रोल्पाको पहाडी परिवेशमा हुर्किएका लेखक घर्तीमगरले कानून, शिक्षा, राजनीति, सामाजिक न्याय, आर्टिफिसियल इन्टेलिजेन्स (AI), पर्यटन तथा मानव जीवनका विविध आयामहरूमा आधारित रहेर आफ्ना विश्लेषणात्मक दृष्टिकोण पुस्तकमा प्रस्तुत गरेका छन्।
कार्यक्रममा बोल्दै लेखक घर्तीमगरले नेपालका समसामयिक कानूनी विषय र सामाजिक यथार्थलाई पुस्तकमा मुख्य रूपमा उठान गरिएको बताए। आफ्नो अध्ययन र भोगाइलाई शब्दमार्फत सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले आफ्ना विचारहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रस्तुत गरेका थिए।
विमोचन समारोहमा विश्लेषक अरुण सुवेदी तथा सामाजिक-राजनीतिक व्यक्तित्व बलबहादुर घर्तिमगरले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। उहाँहरूले कानूनका विद्यार्थीको दृष्टिकोणबाट नेपालको विद्यमान अवस्था र सामाजिक संरचनाको विश्लेषणात्मक प्रस्तुतिका लागि लेखकको प्रयासको प्रशंसा गर्नुभयो। कार्यक्रममा साहित्य, कानून तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।


