काठमाडौं । नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अवस्था बुझ्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीलाई प्रहरीले भेटघाट गर्न नदिई कार्यालयको गेटबाटै फर्काइदिएको छ।
आइतबार बिहान ३ बजे महाराजगञ्जस्थित निजी निवासबाटै नियन्त्रणमा लिइएका जबरालाई हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको छ। उहाँलाई भेट्न आयोगको टोली केहीबेरअघि टेकुस्थित प्रहरी कार्यालय पुगेको थियो। तर परिसरको मुख्य गेटमै रोकिएको आयोग टोली ३५ मिनेटसम्म प्रयास गर्दा पनि प्रहरीले ढोका नखोलेपछि रित्तै फर्किएको हो।
मानव अधिकार आयोगका अनुसार संवैधानिक निकायको टोलीले भित्र छिर्न नदिनुको कारणबारे बारम्बार सोधपुछ गर्दा पनि गेटमा खटिएका सुरक्षाकर्मीले कुनै स्पष्ट जवाफ दिएका थिएनन्। ३५ मिनेटसम्म गेटमै रोकेर राखिएपछि टोली अन्ततः फर्कन बाध्य भएको हो।
प्रहरीले भने पूर्वप्रधानन्यायाधीश जबरालाई कारबाहीका लागि नभई ‘सुरक्षा थ्रेट’ (सुरक्षा जोखिम) देखिएकाले सुरक्षाको दृष्टिकोणले नियन्त्रणमा लिइएको दाबी गर्दै आएको छ। यद्यपि, मानव अधिकारको स्थिति र पक्राउ परेका व्यक्तिको अवस्था अनुगमन गर्न पुगेको संवैधानिक टोलीलाई समेत भेट्न नदिनुलाई आयोगका अधिकारीहरूले गम्भीर रूपमा लिएका छन्।

