सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि लागेका आरोपहरूको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ। पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले अनुसन्धान प्रक्रिया पूरा गर्दै ४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको हो।

व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए। आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएका गुरुङसँग समितिले बयानसमेत लिएको थियो। मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन गरेको थियो। समितिले गुरुङको सम्पत्ति विवरण, जग्गा, सुनलगायतका विषयमा गहन अध्ययन र सम्बन्धित क्षेत्रसँग आवश्यक परामर्श गरेपछि प्रतिवेदन तयार पारेको हो।

सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि गुरुङ विवादमा तानिएका थिए। गुरुङको राजीनामापछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन्। छानबिन समितिले प्रतिवेदन बुझाएसँगै अब सरकारले यसमाथि थप कानुनी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ। समितिले निर्दोष ठहर गरेको खण्डमा गुरुङ पुनः मन्त्री पदमा फर्किन सक्ने चर्चासमेत राजनीतिक वृत्तमा चलिरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज