काठमाडौं । सरकारी स्वामित्वका तीन प्रमुख बैंकहरू-राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले एकैसाथ पदबाट राजीनामा दिएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले बुधबार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो राजीनामा बुझाएका हुन्।
नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जना पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरे पनि सरकारी बैंकका यी पदाधिकारीहरू उक्त सूचीमा परेका थिएनन्। यद्यपि, अध्यादेशबाट पदमुक्त नभए पनि सरकारले नयाँ नियुक्तिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनीहरूले राजीनामा दिएको स्रोतले जनाएको छ।

