काठमाडौँ। पोखरा विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौता विपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन उच्च पदस्थ कर्मचारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन अर्थमन्त्री कार्की, पूर्व अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने र पूर्वसचिव केवल भण्डारी लगायतलाई विपक्षी बनाउँदै ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरी आरोपपत्र पेस गरेको हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार नियमविपरीत राजस्व सहुलियत दिएर राज्यकोषमा ठूलो हानी पुर्याएको भन्दै यो मुद्दा दर्ता गरिएको हो।
मुद्दा दायर गरिएका अन्य पदाधिकारीहरूमा तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी रहेका छन्। यसैगरी उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्याल विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ। अख्तियारले चिनियाँ निर्माण कम्पनी सीएएमसी, सो कम्पनीका अध्यक्ष, परियोजना व्यवस्थापक र म्यानेजरलाई समेत प्रतिवादी बनाएको छ। पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारको विषयमा यो तेस्रो पटक दायर गरिएको मुद्दा हो, यसअघि गत मङ्सिर २१ र चैत ८ गते पनि फरक–फरक व्यक्तिहरू विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भइसकेको थियो।

