नियम उल्लंघन गरेको भन्दै बीमा प्राधिकरणले गर्‍यो दुई कम्पनीलाई नगद जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुईवटा कम्पनीलाई नगद जरिवानासहित कारबाही गरेको छ। प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले नियामकको निर्देशन पालना नगरेकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमामा प्राधिकरणले तोकेको बीमा शुल्कमा आफूखुसी छुट तथा सहुलियत दिएको पाइएपछि दुई लाख रूपैयाँ जरिवाना गरिएको छ। कम्पनीले निर्देशनविपरीत बीमाशुल्कमा डिस्काउन्ट दिएकाले यो कदम चालिएको प्राधिकरणले जनाएको छ।

यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीले स्वामित्व परिवर्तनसम्बन्धी व्यवस्था पालना नगरेको पाइएपछि पाँच हजार रूपैयाँ जरिवानामा परेको छ। प्राधिकरणले संस्थाको स्वामित्व फेरबदल गर्दा पालना गर्नुपर्ने कानुनी प्रक्रिया मिचेको भन्दै सो कम्पनीलाई सचेत गराउँदै जरिवाना गरेको हो। नियमनकारी निकायको निर्देशनलाई बेवास्ता गर्दै व्यावसायिक गतिविधि गर्ने कम्पनीहरूमाथि प्राधिकरणले पछिल्लो समय निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज