काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश कार्यालयमा दर्ता भइसकेको छ र हाल यसमाथि गहन अध्ययन भइरहेको छ ।
सरकारले सिफारिस गरेका कुल आठवटा अध्यादेशमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी दुई अध्यादेशहरू यसअघि नै जारी भइसकेका छन् भने सम्पत्ति शुद्धीकरणसहित अन्य ६ वटा अध्यादेश अहिले विचाराधीन अवस्थामा रहेका छन् ।
प्रवक्ता शाक्यले सम्पत्ति शुद्धीकरण अध्यादेश केही समयअघि नै कार्यालयमा आइपुगेको र यो हाल अध्ययनकै क्रममा रहेको जानकारी दिए । यसै सिलसिलामा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै संवैधानिक परिषद् लगायतका केही महत्वपूर्ण अध्यादेशका विषयमा कानुनविद्हरूसँग परामर्श समेत गरेका थिए ।

