सम्पत्ति छानबिन आयोगको औपचारिक कार्य प्रारम्भ

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा आफ्नो कार्य प्रारम्भ गरेको छ। काठमाडौंको केशरमहलमा कार्यालय स्थापना गरिएको यस आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीले गरेका छन्।

आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् भने अन्य सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका छन्। जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त समेत स्वीकृत भइसकेको छ।

एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्ने जिम्मेवारी पाएको छ। आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। आयोगले आफ्नो कामलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक बनाउने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्ने स्पष्ट पारेको छ।

आयोगले उजुरी संकलनका लागि लिखित, मौखिक, विद्युतीय माध्यम र सामाजिक सञ्जाल लगायतका सबै विकल्पहरू खुला राखेको छ। कार्यसम्पादनको सिलसिलामा आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सकिने भए तापनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ। यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने ३२ जना कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज