उपत्यकामा वैशाख ११ देखि भर्ना र १५ देखि पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाभित्रका सबै पालिकाहरूलाई आगामी २०८३ वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। बुधबार बसेको फोरमको बैठकले स्थानीय तहको संवैधानिक अधिकार र सर्वोच्च अदालतको आदेशलाई मध्यनजर गर्दै शैक्षिक सत्रलाई सुचारु बनाउन यस्तो निर्णय गरेको हो।

यसअघि संघीय सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि भर्ना र २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्ने निर्णय गरे पनि त्यसले विद्यालय सञ्चालनमा अन्योल सिर्जना गरेको र नियमित शैक्षिक क्रियाकलापमा असर पुगेको भन्दै फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्न र विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न शिक्षा नियमावलीको भावना अनुरूप नै विद्यालय सञ्चालन गर्न आवश्यक देखिएको हो। साथै, मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै फोरमले आगामी दिनमा समस्या थप बढेमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायतका वैकल्पिक उपायहरूको समेत तयारी गर्न पालिकाहरूलाई आग्रह गरेको छ।

सरोकारवाला निकायहरूबाट प्राप्त गुनासोको विश्लेषण र व्यावहारिक पक्षलाई हेर्दै वैशाख ९ गतेको बैठकले यो नयाँ कार्यतालिका तय गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज