काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बुधबार न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई उक्त अवधिभर हिरासतमा राख्न म्याद थप गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको र राय प्रतिवेदन तयार गर्नुपर्ने भन्दै ३० दिनको समय माग गरे पनि अदालतले सात दिनको समय मात्र उपलब्ध गराएको छ।
विभागका अनुसार उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुख्य कसुरसँगै यसमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतका सम्बद्ध कसुरहरूमा समेत विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानको अन्तिम राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि हिरासतको म्याद आवश्यक देखिएपछि अदालतले सात दिनको अनुमति दिएको हो। यससँगै अबको एक साता व्यवसायी भट्ट र अग्रवाल विभागको हिरासतमै रहनेछन्।

