काठमाडौं । सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अर्यालको बिदाइको समय नजिकिएसँगै संगठनको नयाँ नेतृत्व कसले सम्हाल्ला भन्ने चर्चाले यतिबेला सुरक्षा वृत्त तातेको छ। महानिरीक्षक पदका लागि सशस्त्र प्रहरीका दुई अतिरिक्त महानिरीक्षकहरू नारायणप्रसाद पौडेल र वंशी दाहाल मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। तर विगतको व्यावसायिक अभिलेख र वर्तमान परिस्थितिलाई सूक्ष्म ढंगले नियाल्दा यो दौडमा वंशी दाहालको पल्ला निकै भारी देखिएको छ।
महानिरीक्षकका दुवै दाबेदारहरू एउटै ब्याचका अधिकारी हुन् जसले २०५४ सालमा नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरी २०५८ मा सशस्त्र प्रहरीमा समायोजन भएका थिए। संगठनभित्रको इतिहास हेर्ने हो भने सशस्त्र प्रहरी उपरीक्षक तहसम्म वंशी दाहाल नै नारायणप्रसाद पौडेलभन्दा ज्येष्ठतामा अगाडि थिए। पछि राजनीतिक पहुँच र दबाबका आधारमा पौडेललाई अगाडि ल्याइएको भए पनि व्यावसायिक मर्यादा र साङ्गठनिक पद्दतिका आधारमा दाहाल नै स्वाभाविक उत्तराधिकारीका रूपमा देखिन्छन्। सशस्त्र प्रहरी नियमावली २०७२ ले स्पष्ट रूपमा ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासनलाई पदोन्नतिको मुख्य आधार मानेको छ, जसमा दाहालको छवि स्वच्छ र निर्विवाद रहेको छ।
अर्का प्रतिस्पर्धी पौडेल भने श्रृंखलाबद्ध विवाद र कारबाहीको सिफारिसमा परेपछि उनको महानिरीक्षक बन्ने यात्रामा कानुनी र नैतिक सङ्कट उत्पन्न भएको छ। पौडेल गणपति र तालिम केन्द्रको समादेशक रहँदा रासन घोटाला जस्तो गम्भीर आर्थिक अनुशासनहीनताको मुद्दामा कारबाही भोगिसकेका अधिकारी हुन्। यति मात्र नभई, गत भदौमा भएको युवा आन्दोलनका क्रममा कार्य विभाग प्रमुखको रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा कर्तव्य पालनामा गम्भीर लापरबाही गरेको भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पौडेलसहित सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठ, प्रहरी उपरीक्षक (एसपी) जीवन केसीलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ। डीआईजी श्रेष्ठ उपत्यकाको पशुपतिनाथ बाहिनी प्रमुख थिए । केसी नम्बर २० विपद् उद्धार गणको नेतृत्वमा थिए।
प्रहरी नियमावली अनुसार गम्भीर प्रकृतिका विभागीय कारबाहीको सिफारिसमा परेका र आर्थिक रूपमा बदनाम भएका अधिकारीलाई संगठनको सर्वोच्च पद सुम्पिँदा सुरक्षा निकायको साख र मनोबल गिर्ने जोखिम रहन्छ। यस्तो अवस्थामा विवादरहित छवि भएका, साङ्गठनिक परिचालनमा अब्बल र आर्थिक रूपमा निष्कलंक मानिएका वंशी दाहाललाई नै सरकारले नयाँ नेतृत्वको रूपमा अगाडि बढाउने निश्चित प्रायः देखिएको छ। व्यावसायिक निष्ठा र ज्येष्ठताको कसीमा दाहाल नै नेतृत्वका लागि निर्विकल्प पात्रका रूपमा उदय भएका छन्।

