आमाको नामबाट वंशज नागरिकता लिन पाउने विधेयक संसदीय समितिबाट पारित, अब आमा वा बुवामध्ये एकजना रोज्न पाइने

काठमाडौं । आमाको नामबाट पनि वंशज नागरिकता लिन पाउने विधेयक संसदीय समितिबाट पारित भएको छ । आमालाई समेत वंशको आधारमा सन्तानलाई नागरिकता दिने प्रावधानसहितको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट आइतबार पारित भएको छ। प्रतिवेदन ऐनमा परिणत भएपछि अब आमा वा बुवामध्ये एकजनाको नाम राखेर वंशज नागरिकता लिन सकिनेछ।

गृहमन्त्री रमेश लेखकले समितिमा स्पष्ट पारेअनुसार नागरिकता लिने व्यक्तिले आमा वा बुवामध्ये कम्तीमा एकजनाको नाम र ठेगाना अनिवार्य राख्नुपर्नेछ। उनले भने, “आमा वा बुवामध्ये एकजनाको नाम राख्नैपर्छ, ठेगाना पनि आवश्यक हुन्छ। दुईवटै नाम खाली राखेर नागरिकता लिन सकिँदैन।”

तर सांसद जयन्तीदेवी राईलगायतले यसले अझै पनि आमालाई पूर्ण वंशको अधिकार नदिएको टिप्पणी गरे। उनका अनुसार नागरिकता आमाको नामबाट लिन बच्चाले बाबुको पहिचान नभएको भनी स्वघोषणा गर्नुपर्ने तर बुवाको हकमा भने यस्तो बाध्यता नराखिनु विभेदपूर्ण छ। त्यस्तै, आमाको नामबाट नागरिकता दिलाउन बच्चाको जन्मस्थान खुलाउनुपर्ने र विदेशी महिलालाई सहजै नागरिकता दिइए पनि नेपाली महिलाका सन्तानका हकमा अझै सर्त कायम रहनु कमजोरी भएको उनको भनाइ छ।

विधेयकमा आमाबाट नागरिकता लिन स्वघोषणा गरिएको तथ्य झुटो ठहरिएमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

यससँगै संविधानले मान्यता दिएको आमाबाट वंशज नागरिकताको व्यवस्था ऐनमा कार्यान्वयन हुने बाटो खुलेको छ, यद्यपि राखिएका सर्तका कारण यसलाई अपूरा अधिकारका रूपमा आलोचना गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज