काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यराति घरबाटै नियन्त्रणमा लिइएको घटनालाई लिएर सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले कडा आपत्ति जनाएलगत्तै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
महानिरीक्षक कार्कीले मंगलबार दिउँसो प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेट गरी करिब पौने घण्टा छलफल गरेका छन्। सर्वोच्च अदालत स्रोतका अनुसार दिउँसो करिब ४ बजे प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा पुगेका आईजीपी कार्की र प्रधानन्यायाधीशबिच गम्भीर संवाद भएको थियो। यद्यपि, दुईबिच भएको छलफलको मुख्य विषयवस्तु भने गोप्य राखिएको छ।
गत असोज १० गते मध्यराति पूर्वप्रधानन्यायाधीश जबरालाई ‘सुरक्षा थ्रेट’ को कारण देखाउँदै प्रहरीले निवासबाटै नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो। बिना पक्राउ पुर्जी र कानुनी प्रक्रिया नपुर्याई करिब १० घण्टा नियन्त्रणमा राखिएको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै कडा विरोध प्रकट गरेको थियो।
स्वतन्त्र न्यायपालिकाको साख र मर्यादामा आँच आउने गरी पूर्वप्रधानन्यायाधीशमाथि गरिएको कार्यशैलीप्रति सर्वोच्चले असन्तोष व्यक्त गर्दै विज्ञप्ति जारी गरेपछि प्रहरी महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मालाई भेट्न सर्वोच्च पुगेका हुन्।
प्रहरी र सरकारका प्रवक्ताले जबरामाथि अपरिचित समूहबाट सुरक्षा जोखिम बढेकाले उनको ‘रेस्क्यु’ (उद्धार) गरिएको दाबी गर्दै आएका छन्। तर, संसद्, कानुन व्यवसायी तथा सर्वोच्च अदालतको पूर्ण बैठकले भने कानुनी प्रक्रिया बिनाको यस्तो कदमले विधिको शासन र नागरिकको अधिकारमाथि प्रश्न उठाएको ठहर गरेका छन्।
सर्वोच्च अदालतको फुल कोर्टबाट औपचारिक रूपमै ध्यानाकर्षण गराइएपछि उब्जिएको परिस्थितिलाई साम्य पार्न र आगामी सुरक्षा समन्वयका विषयमा छलफल गर्न आईजीपी कार्की सर्वोच्च पुगेको अनुमान गरिएको छ।

