काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको, बरु सुरक्षा जोखिमका कारण ‘रेस्क्यु’ (उद्धार) गरिएको दाबी गरेका हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, “उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो।” जबराको परिवारले नै जिउज्यानको सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा औपचारिक निवेदन दिएकाले सोही आधारमा प्रहरीले कदम चालेको उनले बताए।
पूर्वप्रधानन्यायाधीशमाथि उब्जिएको सुरक्षा चुनौतीबारे स्पष्ट पार्दै प्रवक्ता पोखरेलले उक्त थ्रेट ‘जेनजी’ (Gen Z) समूहबाट नभई अन्य अपरिचित समूहबाट आएको जानकारी दिए। प्रारम्भिक चरणमै गम्भीर सुरक्षा जोखिम देखिएपछि प्रहरी टोलीले उनलाई सुरक्षित स्थानमा पुर्याएको सरकारको जिकिर छ।
यसअघि पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति निवासबाटै प्रहरीले लगेको र केही घण्टापछि मात्र छाडेको विषयलाई लिएर संसद्, सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) तथा नेपाल बार एसोसिएसनले प्रक्रियागत कानुनी आधार बिना नियन्त्रणमा लिइएको भन्दै कडा आपत्ति व्यक्त गरेका थिए। तर, सरकारले भने परिवारको सुरक्षा निवेदन र अपरिचित समूहको जोखिमलाई नै देखाउँदै सो कदम विशुद्ध सुरक्षा व्यवस्थापनका लागि भएको स्पष्ट पारेको छ।

