विधानकै धारा निलम्बन गरेर महाधिवेशनमा होमियो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पार्टी विधानको विशेष व्यवस्था नै निलम्बन गरेको छ। साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकले विधानको धारा ३५ (२) ‘घ’ लाई निलम्बन गर्दै तोकिएकै समयमा महाधिवेशन गराउने कानूनी र वैधानिक बाटो खोलेको हो। महाधिवेशन हुनुभन्दा कम्तीमा एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन र कार्यसमिति गठन भइसक्नुपर्ने तथा तीन महिनाअघि प्रतिनिधि चयन हुनुपर्ने विधानको बाध्यकारी व्यवस्थाका कारण असोजमा महाधिवेशन गर्न असम्भव देखिएपछि कांग्रेसले निलम्बनको बाटो रोजेको हो।

महाधिवेशनका लागि विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूलाई मङ्गलबार सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गगन थापाले असोज १६ गतेबाट काठमाडौँमा हुने महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भइसकेको घोषणा गर्नुभएको छ। विशेष महाधिवेशनको जनादेश, पार्टी विधान र अदालतको फैसलाका कारण असोजभित्रै महाधिवेशन गरिसक्नुपर्ने समय चापमा आफूहरू रहेको स्पष्ट पार्दै सभापति थापाले अब समय थप्ने वा अलमलिने सुविधा कसैलाई नभएको बताउनुभयो। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले करिब आठ लाख क्रियाशील सदस्यको टुङ्गो लगाइसकेकाले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन केन्द्रीय निर्वाचन समिति कार्यतालिका अनुसार जुटिसकेको उहाँको भनाइ थियो।

पार्टीभित्रको आन्तरिक असन्तुष्टि र संस्थापनइतर पक्षका नेताहरूसँग आफू निरन्तर संवादमा रहेको उल्लेख गर्दै सभापति थापाले महाधिवेशन प्रक्रियामा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तर, तोकिएको समयमा जिल्ला वा क्षेत्रमा अधिवेशन गराउन असहयोग गर्ने वा रोक्न खोज्ने जिल्ला तथा क्षेत्रीय सभापतिहरूको जिम्मेवारी तत्काल खोसिने चेतावनीसमेत उहाँले दिनुभएको छ। विगतमा भेला र असन्तुष्टि जनाउने अभ्यास भए पनि कार्यतालिका प्रभावित पार्ने छुट कसैलाई नभएको भन्दै कांग्रेसले आफूलाई पूर्ण रूपमा १५औँ महाधिवेशनको चुनावी माहोलमा होमिसकेको सन्देश दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज