अस्वस्थकर खाना खुवाउने होस्टेल र ओभरप्राइसिङ गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना

काठमाडौं । अस्वस्थकर खाना खुवाएर छात्राहरू ठगी गर्ने काठमाडौँको एक गर्ल्स होस्टेल र तोकिएको मूल्यभन्दा बढी असुल गर्ने चर्चित व्यापारिक प्रतिष्ठानमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ। अनुगमन टोलीले मङ्गलवार कोटेश्वरस्थित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख र महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख गरी कुल ५ लाख रुपियाँ नगद जरिवाना गराएको हो।

छात्राहरू भर्ना गर्दा प्यान बिल जारी नगरेको र अस्वस्थकर खाना खुवाएर स्वास्थ्यमा खेलबाड गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम न्यु फेमिली गर्ल्स होस्टेलमाथि कडा कारबाही गरिएको विभागले जनाएको छ। त्यसैगरी, सामानको तोकिएको भन्दा बढी मूल्य असुल गरी (ओभरप्राइसिङ) ग्राहक ठगेको कसुरमा महाराजगञ्जको ओलीज स्टोरलाई २ लाख रुपियाँ जरिवाना गराइएको छ। बजारमा अनुचित व्यापारिक धन्दा चलाउने र उपभोक्ता हितविपरीत काम गर्ने जोकसैलाई कानूनको दायरामा ल्याउने चेतावनी विभागले दिएको छ।

अनुगमनका क्रममा कैफियत भेटिएका ललितपुर पुल्चोकको ‘खाना डट कम’, कीर्तिपुरको क्षितिज मेडिकल स्टोर र बुढानीलकण्ठको विश्राम रेस्टुरेन्ट एण्ड बारलाई तीन दिनभित्र दर्ता, कर चुक्ता र खरिद-बिक्रीसम्बन्धी कागजातसहित बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। यसबाहेक अन्य पाँच वटा पसल तथा फर्महरूलाई बिल बिजक जारी गर्न, गुणस्तर मापदण्ड पालना गर्न र एमआरपी स्टिकर व्यवस्थित गर्न कडा सचेत गराइएको छ। अनुगमनकै क्रममा उपभोक्तालाई सहज रूपमा ग्यास बिक्री वितरण गरिरहेको भेटिएपछि चक्रपथस्थित सीता ग्यास स्टोरलाई भने विभागले धन्यवाद दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज