काठमाडौं । टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासमा तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने निर्णय गरेको हो। अदालतका प्रवक्ता टिकाध्वज कार्कीका अनुसार अधिकारीमाथि आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा मुद्दा दर्ता भएको थियो।
तुल्सा कलेक्सनकी सञ्चालक समेत रहेकी अधिकारीविरूद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ बिगो बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। लामो समयदेखि फरार रहेकी उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस समेत जारी गरेको थियो। चीनमा बसेर सामाजिक सञ्जालमा भिडिओमार्फत चर्चामा आएकी उनलाई प्रहरीले इन्टरपोलको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी केही दिनअघि काठमाडौं ल्याएको थियो। पक्राउ परेकी अधिकारीलाई सोमबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

