काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलका एक कैदीलाई अस्पताल लैजाने बहानामा होटल पुर्याएर मासु र बियर खुवाउने दुई प्रहरी जवान बर्खास्त भएका छन्। कारागारमा रहेका कैदी अनुप भण्डारीलाई हतकडीबिना बाहिर निकाली होटल पुर्याएको पुष्टि भएपछि प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट हटाइएको हो।
गत जेठ १ गते भएको उक्त घटनामा प्रहरीले कर्तव्यविमुख काम गरेको पाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीका अनुसार घटनाको छानबिन गरी उनीहरूलाई बर्खास्त गरिएको हो। स्रोतका अनुसार कुँवर र विकले भण्डारीलाई होटलमा मासु र बियर मात्र नखुवाई युवतीसँग भेटसमेत गराएका थिए। बिरामी भएको भन्दै अस्पताल लैजाने भनेर कारागारबाट निस्किएका उनीहरूले कैदीलाई गम्भीर सुरक्षा मापदण्ड उल्लंघन गर्दै मनोरञ्जन गराएको भेटिएपछि कारबाही प्रक्रिया अघि बढेको हो।

