काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा नियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीनवटा रिटमाथि आज न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुँदैछ। अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशी, अनिल आचार्य, दामोदर तिम्सिना, कृष्णबहादुर खनाल र चुडामणि भण्डारी लगायतले कँडेलको नियुक्तिमा गम्भीर कानुनी त्रुटि रहेको दाबी गर्दै बुधबार यी रिटहरू दर्ता गराएका हुन्।
यसअघि अधिवक्ता माधवकुमार बस्नेतले पेस गरेको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरे पनि अहिले पुनः संवैधानिक प्रश्नसहित रिट दर्ता भएको हो।
निवेदकहरूले डा. कँडेलको योग्यता नेपालको संविधानको धारा १५७ को उपधारा (३) र धारा १२९ को उपधारा (५) बमोजिम महान्यायाधिवक्ता पदका लागि अपर्याप्त रहेको मुख्य दाबी गरेका छन्। प्रधानमन्त्री बालेनले डा. कँडेललाई यही २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए भने सोही दिन उनले पद तथा गोपनीयताको शपथ लिएका थिए। रिट निवेदनमा उक्त नियुक्ति र शपथ दुवै प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।
रिटमा मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा. कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनका लागि अन्तरिम आदेश समेत माग गरिएको छ। संवैधानिक प्रावधान अनुसारको योग्यता नभएको व्यक्तिलाई राज्यको महत्त्वपूर्ण कानुनी सल्लाहकार नियुक्त गरिएको भन्दै कानुन व्यवसायीहरूले यस प्रक्रियालाई तत्काल बदर गर्नुपर्ने अडान राखेका छन्।

