कानून मन्त्री सोविता गौतम र जापानी राजदूतबीच भेटवार्ता: सूचना प्रविधि र एआई नियमनमा सहकार्य गरिने

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटघाट गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटवार्तामा राजदूत तोरुले मन्त्री गौतमलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र विशेषगरी कानूनी सुधारका क्षेत्रमा हुँदै आएको सहकार्यलाई अझ प्रभावकारी ढंगले निरन्तरता दिने विषयमा गहन छलफल भएको छ।

विशेषगरी बदलिँदो विश्व राजनीति र तीव्र गतिमा भइरहेको प्राविधिक विकासलाई मध्यनजर गर्दै सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई व्यवस्थित गर्न उपयुक्त कानूनी ढाँचा आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका छन्। मन्त्री गौतम र राजदूत तोरुबीच एआई जस्ता उदीयमान क्षेत्रहरूको नियमनका लागि अनुभव आदानप्रदान गर्ने र सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्ने सम्बन्धमा कुराकानी भएको थियो। सो अवसरमा मन्त्री गौतमले जापान सरकारको चासो वा आवश्यकताका कुनै पनि विषय भएमा नेपाल सरकार छलफलका लागि सधैँ खुला रहने सकारात्मक सन्देश समेत दिनुभयो। यो भेटघाटले नेपाल र जापानबीचको कानूनी तथा प्राविधिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज