अन्तरजातीय विवाह गर्दा बलात्कार मुद्दा लगाइएका युवकको हिरासतमै शंकास्पद मृत्यु

काठमाडौँ। अन्तरजातीय विवाह गरेका कारण पक्राउ परेका एक दलित युवकको सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद मृत्यु भएपछि घटनाले उग्र रुप लिएको छ। सुनकोसी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विकको मृत्युलाई प्रहरीले आत्महत्या दाबी गरे पनि पीडित परिवार र अधिकारकर्मीहरूले भने प्रहरीकै मिलेमतोमा हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।

ललितपुरमा गाडी चलाउँदै आएका श्रीकृष्ण र खोटाङकी १७ वर्षीया निर्जला मगरबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र उनीहरूले गत चैत २८ गते राजीखुसी विवाह गरेका थिए। नयाँ वर्ष मनाउन सिन्धुली पुगेका उनीहरूलाई केटीका आफन्त र सातदोबाटो प्रहरीले ‘कुरा मिलाउने’ भन्दै बोलाएर नियन्त्रणमा लिएका थिए। युवतीले आफू राजीखुसी गएको बयान दिए पनि प्रहरीले केटीको उमेर कम भएको प्राविधिक कारण देखाउँदै श्रीकृष्णविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी वैशाख ४ गतेदेखि हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले वैशाख ७ गते श्रीकृष्ण शौचालयमा आफ्नै सटको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको र अस्पताल लैजाँदा मृत्यु भएको दाबी गरेको छ। तर, मृतकका आफन्तले भने प्रहरीले षड्यन्त्रपूर्वक हत्या गरेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन्। घटनास्थलमा जनप्रतिनिधि र परिवारलाई जानकारी नै नदिई डोरी काट्नु र हतार-हतार अस्पताल पुर्‍याउनुले घटना थप रहस्यमय बनेको परिवारको जिकिर छ। मृतककी आमा विन्दामाया विकका अनुसार हिरासतमा भेट्न जाँदा श्रीकृष्णले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबरजस्ती करणी स्वीकार गर्न दबाब दिएको सुनाएका थिए। विवाहको विषयलाई जबरजस्ती करणीको रङ दिएर थुनामा राख्नु र त्यहीँ ज्यान जानुले प्रहरी प्रशासनको नियतमाथि प्रश्न उठेको छ।

यस घटनाप्रति राष्ट्रिय दलित आयोगले कडा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले अत्यन्त संवेदनशील र चिन्ताजनक विषय भएको भन्दै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। दलित समुदायमाथि हुने क्रूर शारीरिक तथा मानसिक यातनाका विगतका तथ्यहरूले यस घटनालाई थप शंकास्पद बनाएको आयोगको ठहर छ।

यस्तै सांसद खगेन्द्र सुनारले प्रहरीले हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन खोजेको भन्दै सत्यतथ्य बाहिर नआएसम्म शव नउठाउन अपिल गरेका छन्। अर्का सांसद गणेश विश्वकर्माले पनि सुशासनको नारा दिने सरकारको पालामा प्रहरी हिरासतमै नागरिक असुरक्षित हुनुले गम्भीर प्रश्न खडा गरेको भन्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्। हाल घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ र मृतकको शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज