काठमाडौं । नेपाली कांग्रेसले आफ्नै जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउँदै तीन दिने स्पष्टीकरण सोधेको छ। जिल्ला सभापति जस्तो गरिमामय र जिम्मेवार पदमा आसिन व्यक्तिले पार्टीको पदीय मर्यादाको समेत ख्याल नगरी संगठन र पार्टी नेतृत्वको विरुद्धमा उभिएको भन्दै कांग्रेसले उनीसँग जवाफ मागेको हो।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले तामाङले पार्टी र नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालेको छ। समितिका सचिव दिनेश थापा मगरका अनुसार, पार्टीको हितविपरीत र नेतृत्वको छविमा आँच पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको कारण उनलाई तीन दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। जिम्मेवार तहमा बसेर पार्टी अनुशासन उल्लंघन गरेको आरोप लागेका तामाङले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा विधान अनुसार थप कारबाही हुन सक्ने संकेत समितिले गरेको छ।

