काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरामाथि निलम्बनको कारबाही प्रक्रिया अघि बढाइएको छ। आफ्नै कार्यालय प्रमुख र समग्र प्रहरी संगठनको बदनाम गर्ने उद्देश्यले बदनियतपूर्ण कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीविरुद्ध यो कडा कदम चालेको हो।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार, वरिष्ठ नायव निरीक्षक जबराले एक व्यवसायीलाई आफैं फोन गरेर बनावटी कथा बुनेको र सोही आधारमा एक अडियो तयार पारेको पुष्टि भएको छ। उक्त भ्रामक अडियोलाई विभिन्न सार्वजनिक सञ्चार माध्यमबाट प्रसारित गराई प्रहरी संगठन र नेतृत्वको मर्यादामा आँच पुर्याउन खोजेको अभियोग उनीमाथि लगाइएको छ। प्रहरी आचरणविपरीत यस्तो गम्भीर र अनुशासनहीन कार्यमा संलग्न भएको पाइएकाले उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को व्यवस्था बमोजिम निलम्बन गर्ने निर्णय भएको हो। संगठनको प्रतिष्ठामा धक्का पुर्याउने गरी रचिएको सो “फेक अडियो” प्रकरणमा उनी दोषी देखिएपछि विभागीय कारबाहीको प्रक्रियालाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।


