काठमाडौं । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले शान्ति स्थापनाको क्षेत्रमा नवीन अवधारणासहितको कार्यढाँचा सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित एक विशेष कार्यशालामा “शान्तिको मार्ग: शान्ति स्थापनाको आगामी विकासका लागि एक संलग्नता कार्यढाँचा” विषयक अनुसन्धानको निष्कर्षहरू सार्वजनिक गरिएको हो।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक एवं वैश्विक अनुसन्धानका निर्देशक समिति सदस्य चुप बहादुर थापाले ुइङ्गेजमेन्ट फ्रेमवर्कु प्रस्तुत गर्नुभएको थियो। थापाले यस फ्रेमवर्कको दूरदृष्टि, मार्गनिर्देशक सिद्धान्त र व्यावहारिक सिफारिसहरूका बारेमा जानकारी दिँदै शान्ति स्थापनाको पारिस्थितिक प्रणालीमा सम्बन्ध र शक्ति सन्तुलनलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नुभयो। उहाँले स्थानीय समुदायको निर्णय प्रक्रियामा स्वामित्व, पारस्परिक जवाफदेहिता, न्यायोचित शक्ति बाँडफाँट र विश्वासमा आधारित दीर्घकालीन सम्बन्ध नै दिगो शान्तिको आधार भएको बताउनुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, विश्वविद्यालय तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले शान्ति स्थापनाका अभ्यासहरूलाई समयसापेक्ष परिमार्जन र पुनर्कल्पना गर्ने विषयमा गहन छलफल गर्दै स्थानीय नेतृत्व र शान्ति प्रक्रियाको आवश्यकतामा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले यो फ्रेमवर्कले आगामी दिनमा द्वन्द्व रूपान्तरण र मेलमिलापका कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रनेपालले यस नवीन कार्यढाँचामार्फत समावेशी र स्थानीय जगमा उभिएको शान्ति स्थापनाको प्रयासलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। संस्थाले यस अभियानमा निरन्तर सहयोग पुर्याएकोमा ह्युमानिटी युनाइटेड प्रति आभार व्यक्त गर्दै न्यायपूर्ण र दिगो शान्तिका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

