काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा विषादी सेवन गरी आत्महत्या प्रयास गरेकी करिब ३० वर्षीया महिलाको पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार जारी रहेको छ।
प्रहरी स्रोतका अनुसार अदालत परिसरमै किटनाशक विषादी सेवन गरेकी ती महिलालाई तत्काल उद्धार गरी पाटन अस्पताल लगिएको थियो। उनको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको छ।
उक्त घटना कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी रहेको मुद्दासँग सम्बन्धित रहेको जनाइएको छ। स्रोतका अनुसार सो मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि महिलाले आत्महत्या प्रयास गरेकी हुन्।
यसअघि काठमाडौं जिल्ला अदालतले पनि सोही मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसपछि मुद्दा उच्च अदालत पाटन पुगेको थियो। उच्च अदालतले समेत धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै अदालत परिसरमै उनले विषादी सेवन गरेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

