काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई प्रहरी नियन्त्रणमा राखिएको स्थानमा अनुगमनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रवेश नदिइएको घटनाबारे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले आयोगसमक्ष बयान दिएका छन्।
आयोगको कार्यालय पुगेका एसएसपी खड्कासँग पदाधिकारीहरूले करिब एक घण्टा सोधपुछ गरेका हुन्। गत आइतबार दिउँसो अनुगमन तथा निरीक्षणका लागि खटिएका मानव अधिकार आयोगका प्रतिनिधिलाई कार्यालय प्रवेशमा रोक लगाइएपछि आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै खड्कालाई सोधपुछका लागि उपस्थित गराउन निर्देशन दिएको थियो।
यसअघि गत आइतबार बिहान ३ बजे प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाको कमान्डमा खटिएको प्रहरी टोलीले पूर्वप्रधानन्यायाधीश राणालाई बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिई उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
प्रहरीले राणामाथि ‘सुरक्षा थ्रेट’ रहेकाले बचाउका लागि नियन्त्रणमा लिइएको दाबी गर्दै आएको छ। तर, कुन समूह वा व्यक्तिबाट कस्तो प्रकारको सुरक्षा जोखिम उब्जिएको हो भन्ने विषयमा न त प्रहरी प्रशासनले स्पष्ट खुलाएको छ, न त सरकारले नै कुनै औपचारिक जानकारी दिएको छ।
मानव अधिकार आयोगले अनुगमन टोलीलाई बाधा पुर्याइएको विषय र बिनापुर्जी नियन्त्रणमा लिने प्रक्रियामाथि गम्भीर चासो व्यक्त गर्दै थप अनुसन्धान अघि बढाएको छ।

