उच्च अदालतका न्यायाधीश डाँगी सवार गाडी मकवानपुरमा दुर्घटनाग्रस्त

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहितका न्यायिक अधिकारीहरू सवार सरकारी गाडी मकवानपुरको जुरिखेतमा दुर्घटनामा परेको छ।

मंगलबार बिहान करिब ८ बजेको समयमा काठमाडौँबाट हेटौँडा हुँदै वीरगन्जतर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको उक्त गाडी भीमफेदी गाउँपालिका–६ स्थित सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो। दुर्घटनामा न्यायाधीश डाँगी र उच्च अदालतका रजिस्ट्रारको परिवारसहित गाडीमा सवार सबै ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेका अनुसार दुर्घटनामा परी बैतडी निवासी रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ। त्यसैगरी, न्यायाधीश डाँगी, रजिस्ट्रार बडु, उहाँका छोरा रितेन्द्र बडु, दिदी रिता बडु र दाङ निवासी चालक छुनिलाल चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको हाल स्थानीय स्तरमा उपचार भइरहेको छ। गम्भीर घाइतेसहित अन्यको थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी सुविधासम्पन्न अस्पताल लैजाने पहल भइरहेको डिएसपी काफ्लेले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज