काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको प्रतिवाद गर्न विपक्षी दलहरूको बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको अलोकतान्त्रिक कदमविरुद्ध साझा रणनीति तय गर्न आज मध्याह्न १२ बजे सिंहदरबारमा विपक्षी दलहरूलाई बोलाएका छन् ।
बैठकमा सहभागी हुन नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । संसद् अधिवेशन अन्त्य गरेर चोरबाटोबाट अध्यादेश ल्याउनुलाई विपक्षीले सार्वभौम संसद्को अपमान र बलमिच्याइँको राजनीतिको रूपमा अर्थ्याएका छन् ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पुगेपछि मात्र सरकारको यो गोप्य तयारी सार्वजनिक भएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले यसबारे पत्रकार सम्मेलनमा कुनै जानकारी दिएका थिएनन् । यसरी सूचना लुकाएर अध्यादेश ल्याइएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन् ।
प्रमुख विपक्षी नेता आङ्देम्बेले झन्डै दुई तिहाइको बहुमत हुँदाहुँदै पनि सरकारले आफ्नै पार्टीको बहुमतमाथि अविश्वास गरेर अध्यादेशको बाटो रोजेको भन्दै प्रश्न उठाएका छन् । संविधानको मर्म र जनअभिमतलाई उपेक्षा गर्न नदिने चेतावनी दिँदै उनले आजको बैठकबाट सरकारको यो कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने रणनीति तय गरिने बताएका छन् । बैठकमा विपक्षी दलहरूबीच सदन र सडकमा गरिने प्रदर्शनका विषयमा समेत छलफल हुने बुझिएको छ ।

