सर्वोच्चमा अनलाइनबाटै मुद्दा दर्ता तथा पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको सुरुवात 

काठमाडौं । सर्वोच्च अदालतले मंगलबार देखि अनलाइनमा मुद्दा दर्ता गर्ने प्रणाली तथा पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको सुरुवात गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर कागजी रूपमा मुद्दाहरू प्राप्त गरी दर्ता गर्ने प्रक्रिया झन्झटिलो र समय, श्रोत साधन प्रयोगका दृष्टिले बोझिलो भएको भन्दै अनलाइन प्रणालीको सुरुवात गरिएको बताइएको छ । 

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज उक्त सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दुरदराजका मानिसलाई सहज, सरल र सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले तयार गरेको अनलाइनबाट मुद्दा दर्ता प्रणालीको बिस्तारै उच्च र जिल्ला अदालतमा पनि लागू गर्ने तयारी रहेको उल्लेख गर्दैै प्रधानन्यायाधीश श्रेष्ठले यो उपलब्धिलाई सफल पार्नका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

“सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ, सर्वसाधारण र दुरदराजका मानिसलाई न्यायमा पहुँचमा पु¥याउन यो प्रविधिको प्रयोग गरिएको हो”, उहाँले भन्नुभयो, “अनलाइनमा अब सबै रिट तथा मुद्दा दर्ता हुनेछ, यसलाई सफल पार्नुपर्छ”।

सर्वाेच्चले पहिलो चरणमा रिट निवेदनहरू अनलाइन मार्फत दर्ता गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । यसले सेवाग्राहीहरू हाल  मुद्दा दर्ता प्रक्रियामा खेपिरहेको समस्यालाई सहजिकरण गर्ने विश्वास गरिएको छ । 

सर्वोच्चद्वारा जारी प्रेस नोटका अनुसार तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने छ । यसका लागि अनलाइनबाट आएका रिट निवेदनलाई अदालतले प्रारम्भिक रुपमा अध्ययन गर्ने र त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्ने बताइएको छ । अदालतले परीक्षणको रुपमा सुरु गरेको यो सेवालाई आवश्यकता अनुसार थप परिमार्जन गर्दै लैजाने उल्लेख गरेको छ । 

अदालतका सेवाहरूलाई न्यून कागज प्रयोग हुने सेवाको रूपमा विकास गर्ने न्यायपालिकाको सूचना प्रविधि गुरुयोजनाको लक्ष अनुसार अनलाइन मुद्दा दर्ता प्रणाली शुरुवात गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ । अनलाइन प्रणालीको सुरुवातपछि  मुद्दा दर्ता गर्न भौतिक रूपमा अदालतमा उपस्थित हुन नपर्ने, अदालत भन्दा टाढा रहेर समेत फर्महरू मार्फत अदालतमा मुद्दा दर्ता गर्न सकिने छ ।  सेवाग्राहीले अनलाइन प्रणाली प्रयोग गरी मुद्दा दर्ता गर्दा कुनै शुल्क भुक्तानी गर्न नपर्ने अदालतले जनाएको छ । 

यसका साथै सर्वोच्चले मुद्दा दर्ता भए पश्चात् मुद्दाका पक्षहरूलाई पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको समेत सुरुवात गरेको छ । हाल कागजी रूपमा पठाउने गरिएकोमा यसलाई समेत प्रणाली मार्फत नै व्यवस्थापन गर्न पेसीको सूचना स्वचालित रूपमा प्रणाली मार्फत पठाउने व्यवस्था मिलाइएको हो । 

पेसीको सूचना स्वचालित रूपमा प्रणाली मार्फत पठाउने सेवा अन्तर्गत हाललाई सर्वोच्च अदालतबाट महान्यायाधिवक्ता कार्यालयमा पठाइने पेसीको सूचना स्वचालित रूपमा प्रणाली मार्फत पठाउने गरी व्यवस्था भएको बताइएको छ । यसलाई प्रदेश सरकार अन्तर्गतका मुख्य न्यायाधिवक्ताको कार्यालयहरू, कारागार कार्यालयहरू आदीमा समेत बिस्तार गर्ने गरी कार्य भई रहेको अदालतले जनाएको छ । अदालतका अनुसार उच्च तथा जिल्ला अदालतहरूबाट पठाइने पेसीको सूचना समेत प्रणाली मार्फत पठाउने व्यवस्था गर्न अध्ययन भई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज